काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गत आमनिर्वाचनबाट उदाएको देशको चौथो ठूलो दल हो। अत्यन्तै छोटो तयारीबीच चुनावी मैदानमा होमिएर उसले पाएको सफलतालाई प्रमुख तथा पुराना दलहरूका चुनौतीका रुपमा अर्थ्याइन्थ्यो।
तर स्थापनाको २५ महिनासम्म आइपुग्दा रास्वपामा असन्तुष्टि बढेको मात्र छैन, केन्द्रदेखि वडासम्मका नेता–कार्यकर्ताले पार्टी नै परित्याग गरेका छन्। पार्टी सञ्चालनको विधि, पद्धति र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट नेता–कार्यकर्ता टाढिँदा पुराना शक्तिका विकल्पको रुपमा हेरिएको पार्टीको आकार नै घट्दो क्रममा देखिन्छ।
शनिवार (भदौ १ गते) मात्रै रास्वपा दाङका एक सयभन्दा बढी युवाले पार्टी परित्याग गरेको घोषणा गरे। पार्टी स्थापनाकालदेखि नै सदस्य रहेका दाङ क्षेत्र नम्बर ३ का सभापति मेघराज केसीलगायत क्षेत्रीय सदस्य, घोराही र तुलसीपुर उपमहानगरपालिका स्तरीय समितिका पदाधिकारी र सदस्यहरूले पार्टी त्याग गरेको घोषणा गरेका हुन्।
क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि लामिछानेले युवालाई झुक्याएको आरोप लगाए। रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद, कृपावाद हावी भएकोले त्यो कुरा बुझेरै पार्टी छाडेको जिकिर उनले गरे। ‘हामीले कुनै रहर, प्रतिशोध र कसैको दबावमा नभई राजनीति बुझेरै पार्टी परित्याग गरेका हौँ’, उनको भनाइ छ।
रास्वपा छाड्ने युवाहरूको उक्त समूहमात्रै होइन, त्यसअघि धेरैले पार्टी छाडिसकेका छन्। यो क्रम पार्टी गठनको २ महिनादेखि नै प्रारम्भ भएको हो। शुरुमा केन्द्रीय सदस्य गीता रेग्मीले पार्टी परित्याग गरेकी थिइन्।
पार्टीको विचार र पार्टी नेतृत्वको गतिविधिप्रति असहमति जनाउँदै रेग्मी २०७९ भदौ ७ गते राजीनामा दिएकी थिइन्। त्यसपछि उनको स्थानमा चितवनकी सविता विक सदस्य मनोनीत भएकी छन्।
०८० वैशाख १० को पहिलो उपनिर्वाचनअघि रास्वपा प्रवेश गरेका रमेश खरेलले पनि रास्वपा त्यागिसकेका छन्। स्वार्थ बाझिनेगरी पार्टीले गृह मन्त्रालयको जिम्मेवारी लिन नहुने अडानमा उनी थिए तर पार्टी सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बने।
त्यसविरुद्ध निरन्तर विभिन्न टिप्पणी गर्दै आएका खरेललाई पछि रास्वपाले पार्टी र नेतृत्वप्रति इङ्गित भएर अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोध्यो। तत्पश्चात् स्पष्टीकरण बुझाउनुका साटो उनले ‘पार्टीको नीति तथा सिद्धान्त आफ्नो प्राथमिकतासँग नमिलेको’ भन्दै पार्टी नै छाडिदिए।
०८० पुस १४ मा रास्वपा सुदूरपश्चिमका उपसभापति र महामन्त्रीले पदबाट राजीनामा दिए। उपसभापति श्रृष्टी महरा र महामन्त्री भोजराज जोशीले पार्टीलाई समय दिन नसक्ने भन्दै बाहिरिएका थिए।
यस्तै, ०८१ असार १२ मा प्युठान जिल्ला सभापति सुमन सुवेदीले पार्टी परित्याग गरे। उनले पार्टी परित्यागको कारण भने व्यक्तिगत भनेका छन्। सुवेदीले व्यक्तिगत कारणले पार्टी छाडेको भने पनि नेतृत्वप्रतिको असन्तुष्टिकै कारण उनी बाहिरिएको संकेत सामाजिक संजालमा उनले त्यसवेला लेखेका स्टाटसले पनि देखाउँछ। उनले भनेका छन्, ‘फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिँगार्नु जरुरी छ।’
त्यसअघि ०७९ कात्तिक १६ गते रास्वपा कोशी प्रदेशका प्रदेश, जिल्ला र नगरका नेताहरूले पनि पार्टी त्यागेका थिए। पार्टी परित्याग गर्नेहरूमा प्रदेश समिति सदस्य तथा कोशी निर्वाचन परिचालन समिति सभापति सञ्जीव भट्टराई, सुनसरी जिल्ला सचिव तथा कोशी निर्वाचन परिचालन समिति उपसभापति प्रेमप्रसाद तिमिल्सिना, धरान उपमहानगर सभापति राम कार्की, धरानका उपसभापति रिचन राई र प्रदेश समिति सदस्य शिल्पा भट्टराईसहित अन्य कार्यकर्ताहरू थिए।
उनीहरूले पार्टी सञ्चालनको अवस्था, आलोचनाप्रति असहिष्णु नेतृत्व, आर्थिक अपचलन, पार्टी सभापतिप्रति लागेका अनैतिक आचरण, अपारदर्शी आर्थिक गतिविधि, विगतमा लागेको आत्महत्या दुरुत्साहन मुद्दाजस्ता आरोपहरू सही त थिएनन्? भन्ने आशङ्कासहित राजीनामा बुझाएका थिए।
पार्टी सभापति रवि लामिछाने निर्वाचित जिल्ला चितवनका सभापति धर्मेन्द्र सापकोटाले पनि पार्टी छाडेका थिए। पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएको, रास्वपाभित्र ‘राणाशासन’ जीवित भएको आरोप लगाउँदै उनले ०७९ माघ १८ गते पार्टी परित्याग गरेका थिए।
यसैगरी ०८० माघ १ गते बर्दिया जिल्लाका झन्डै दुई दर्जन नेता–कार्यकताले पनि रास्वपा छाडेका थिए। पार्टी–पङ्क्तिमा पदीय ध्वाँस, हैकमवादी चरित्र, धम्कीपूर्ण व्यवहार र गुट–उपगुट मौलाएको कारण पेश गर्दै २१ जनाले पार्टी परित्याग गरेका थिए।
यता, रास्वपा मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहितको टोली पनि गएको असार दोस्रो साता रास्वपाबाट बाहिरिएको छ। संयुक्त विज्ञप्ति जारी गर्दै खनालसहित ६ जनाको युवा टोलीले सत्ता लिप्सा देखिएको भन्दै रास्वपा परित्यागको घोषणा गरेको हो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिल्लाभित्र बलियो बनाउन हामी निःस्वार्थ भई लाग्दै आएका थियौं। तर पार्टीले लिएको अहिलेको कार्यदिशा परिवर्तनभन्दा पनि सत्तालिप्सा र भागबण्डामा केन्द्रित भएको अनुभूति हामीसहित सबैले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका कार्यकर्ता, शुभचिन्तक, एवम् आम नेपाली जनतालाई भ्रममा पार्ने मात्रै काम पार्टी नेतृत्वबाट भएको महसुस गर्दै आजकै मितिबाट साधारण सदस्यसमेत नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग भएको घोषणा गर्दछौं।’
पार्टी परित्याग गर्नेहरूमा जिल्ला सचिवालय सचिव खनालसहित मकवानपुर निर्वाचन क्षेत्र १ का उपसभापति जगदीश दाहाल, हेटौंडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङ, हेटौँडा-१२ उपसभापति निर्मला प्रजा बास्तोला, हेटौँडा-१७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राईले एकसाथ पार्टी छोडेका हुन्।
मकवानपुरकै हेटौँडा नगर उपसभापति सपना कँडेल र नगर सदस्य मञ्जु धमलाले पनि गत वर्ष माघमै रास्वपा छाडिसकेका छन्।
के भन्छ रास्वपा?
महामन्त्री डा. मुकुल ढकाललगायत केहीलाई भने रास्वपाले नै कारबाही गरेर पार्टीबाट निकालेको छ। नेता–कार्यकर्ता आफैँ बाहिरिए पनि वा पार्टीले निकाले पनि रास्वपा क्रमशः खिइँदै गएको देखिन्छ।
आफूले गाली गरेकै पुराना नेताहरूसँग साँठगाँठ गरेर पटक पटक सरकारमा जानु र गएर पनि अपेक्षित नतिजा दिन नसक्नु, नेतृत्वदेखि अग्रपंक्तिकै नेताहरू नागरिकता, पासपोर्टदेखि सहकारी ठगी प्रकरणमा मुछिनुले रास्वपालाई क्षति पुर्याइरहेको देखिन्छ।
तर यो क्रमलाई रास्वपाले भने शुद्धिकरणको रुपमा लिएको कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन्। राम्राभन्दा धेरै स्वार्थ बोकेर पार्टीमा जोडिएकाहरूले पार्टी छोडेको उनले बताए।
‘पार्टी छाड्ने मान्छेहरू नभएका होइनन् र त्यसबारे सरोकार राख्ने र पार्टीमा छलफल पनि हुँदै आएकै छन्’, उनी भन्छन्, ‘तर हामीले यसमा के हेरिरहेका छौं भने पार्टी छाड्ने मान्छे को हुुनुहुन्छ? कस्तो हुुनुहुन्छ? पार्टीमा किन आउनुभएको थियो? र आएर के गर्नुभयो? यसरी हेर्दा कतिपय जाँदैगर्दा फाइदा छ किनभने स्वार्थ लिएर आउनुभएको मान्छे त्यो पूरा नभएपछि छाड्दै हुनुहुन्छ। त्यसकारण हामीले यसलाई शुद्धिकरणको प्रक्रियाका रुपमा लिएका छौं।’
छाडेर जानेहरूले रास्वपाबारे थप कुप्रचार गरेको नेता झाको बुझाइ छ। उनी भन्छन्, ‘सबैको मानवीय स्वभाव के हो भने जाँदैगर्दा, जोसँग मित्रता रहँदैन वा जुन संगठनमा आफ्नो सदस्यता रहँदैन त्यसविरुद्ध नराकारात्मक टीकाटिप्पणी गर्नु त स्वाभाविक हो।’
संख्यात्मकभन्दा दक्षता र शैली राम्रो हुनुपर्नेमा झा जोड दिन्छन्। एकैपटक ६० जनाभन्दा धेरैले पार्टी छाडेको भनिएको घटना पनि पूरै सत्य नभएको दावी उनको छ। ‘पहिलो त दाङको घटनाको कुरा गर्दा ६० जनाले छाड्यौँ भन्नुभएको छ। त्यहाँ नेतृत्व दिइएको केसीजीले भन्नुभएको मात्रै हो तर ६० जना साथीहरू जानुभएको छैन’, उनले भने, ‘अर्को चाहिँ छाडेको भन्दा पनि कारबाही गरिएको हो। कारबाहीमा पर्दै गर्दा त्यसमा स्पष्टीकरण दिने र मौका कुर्नेभन्दा छोडिदिऊँ भनेर जानुभएको हो।